विद्युत् सेवा बन्द हुँदा हुम्लाको याङ्गु गाउँ दियालोको भरमा

हुम्ला । एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङ्गु गाउँका स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

हप्ता दिनदेखि विद्युत् सेवा बन्द भएपछि सिमकोट गाउँपालिका–८ को याङ्गु गाउँका बासिन्दाअन्धकारमा बस्नु परेको हो ।

विद्युत् सेवा बन्द भएपछि सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरण भएको लाइनमा समस्या आएपछि विद्युत् प्रवाह हुन सकेको छैन । विद्युत् केन्द्रबाट विस्तार गरिएका दुईवटा लाइनमध्ये एउटा लाइनले काम गरे पनि अर्को लाइन एक हप्तादेखि बन्द हुँदा आफूहरूलाई निक्कै समस्या परेको स्थानीय हर्कवीर शाहीले बताए ।

करिब ६० घरधुरी भएको यस गाउँमा अहिले १५ घरधुरीले विद्युत् सेवा पाएका छन् भने अन्य ४५ घरधुरी अन्धकारमा बस्न बाध्य भएका उनले जानकारी दिए । विद्युत् आपूर्ति नभएको करिब एक हप्ता भइसक्दा पनि प्राधिकरणको हेल्दुङ वितरण केन्द्रले वास्ता नगरेको हर्कवीरको गुनासो छ ।

पटक पटक विद्युत् वितरण केन्द्रमा मर्मतका लागि आग्रह गर्दासमेत आफूहरूको मागको सुनुवाइ नभएको उनले बताए ।