कर्णाली प्रदेश सुशासन सम्मेलन भोलिबाट सुरु

सुर्खेत । कर्णाली प्रदेश सुशासन सम्मेलन भोलि बाट सुरु हुने भएको छ । सुशासनमा नागरिक सहभागिता कार्यक्रम (प्रदेश सुशासन सम्मेलन २०७९) भदौ २८ र २९ गते हुने भएको हो ।

सहकर्मी समाज नेपाल, सुशासनमा नागरिक सहभागिता कार्यक्रमको संयोजनमा समीक्षा, संवाद र समाधान भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको हो । दलित महिला विकास केन्द्र नेपालको सहकार्यमा र प्रदेश सुशासन केन्द्र वीरेन्द्रनगर सुर्खेतको समन्वयमा कर्णाली प्रदेश सुशासन सम्मेलन हुने भएको हो ।

कर्णाली प्रदेशमा रहेर सुशासनका क्षेत्रमा प्रत्यक्ष रुपमा कार्यरत सरोकारवालाहरु बिच सिकाई आदानप्रदान गर्ने,योजना तथा नीतिनिर्माण प्रक्रियामा स्थानीय सरकार,प्रदेश सरकार, सरोकारवालाहरु बीचको संवाद र सहभागितामूलक पद्धतिलाई संस्थागत गर्न पहल गर्ने सम्मेलनको उदेश्य रहेको छ ।

यस्तै संघीयताको पहिलो ५ वर्षे कार्यकालमा समग्र राम्रा अभ्यास, सिकाई र चुनौतीहरुको समिक्षा मार्फत आएका निष्कर्षहरुलाई दस्तावेजीकरण प्रकाशन तथा वितरण गर्ने समेत कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य , स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेश स्थित विषयगत महाशाखा र निर्देशनालय प्रतिनिधिहरु, सल्यान, जाजरकोट, कालीकोट र सुर्खेतमा रही सुशासनका क्षेत्रमा कार्यरत नागरिक समुदाय, सामाजिक संस्था र सञ्चारकर्मीहरु सहभागी हुने छन् ।

कार्यक्रममा प्यानलीस्टको रुपमा आन्तरिक मामीला तथा कानुन मन्त्री , प्रदेश सभा सामाजिक विकास समिति अध्यक्ष भेरी नगरपालिका जाजरकोटका प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लगाएत रहनेछन् ।