स्थानीय तह निर्वाचन : माओवादी केन्द्रले रुकुमपश्चिममा पालिका प्रमुख /उपप्रमुखको टुङ्गो लगायो

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले रुकुमपश्चिममा पालिका प्रमुख र उपप्रमुख उम्मेद्वारहरुको टुङ्गो लगाएको छ ।
उम्मेद्वार छनोट तथा सिफारिस समितिले पालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षका उम्मेदवारहरु टुङ्गो लगाएर प्रदेश समितिमा पठाएको हो । नेकपा माओवादी केन्द्र रुकुमपश्चिम, प्रचार विभाग प्रमुख ध्रुव बिक्रम बुढाथोकीका अनुसार चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी कुमारी शर्मा विएमलाई सिफारिस गरिएको छ ।

यस्तै आठविसकोट नगरपालिकाको प्रमुखमा रवि केसी र उपप्रमुखमा धन कुमारी शाही तथा मुसिकोट नगरपालिकाको प्रमुखमा वसन्त शर्मा र उपप्रमुखमा मिलन खड्कालाई सिफारिस गरिएको छ ।

यस्तै सानीभेरी गाउँपालिकाको अध्यक्षमा बिर्ख बहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुनलाई सिफारिस गरेको छ । समितिले त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेश कुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउलेलाई तथा बाँफिकोट  गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसीलाई सिफारिस गरिएको जनाएको छ ।

यस्तै समितिले जिल्ला समन्वय समिति प्रमुख पदको लागि महिला उम्मेद्वार बनाउने पनि निर्णय गरेको छ । गठबन्धनको निर्णय कार्यान्वयन गर्नको लागि आवश्यक परेमा जोकोहीको पनि उम्मेद्वारी फिर्ता हुनसक्ने प्रचार विभाग प्रमुख बुढाथोकीले जानकारी दिए ।