
काठमाडौं । भारत भ्रमणका रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गरेका छन् ।
नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा भेटवार्तापछि दुवै प्रधानमन्त्रीद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सीमा विवाद समाधान गर्न मोदीलाई आग्रह गरेको जानकारी दिए । उनले दुई देशबीच रहेका सीमा विवादको विषय स्थापित संयन्त्रबाट समाधान गर्नुपर्ने बताए ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेपछि नेपाली प्रधानमन्त्रीबाट भएको यो पहिलो भारत भ्रमण हो । भारतले कालापानी क्षेत्र समेटेर आफ्नो नक्सा अद्यावधिक गरेपछि नेपालले कुटनीतिक नोट पठाउँदा दिल्लीले कुनै जवाफ दिएको थिएन । त्यसपछि नेपालले आफ्नो नक्सामा गरेको परिवर्तनलाई भारतले अस्वीकार गर्दै आएको छ ।
यसैबीच नेपाल र भारतबीच चार वटा सम्झौता भएका छन् । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तापछि भएको दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलमा चार वटा सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएका हुन् ।

फरकबाटो १९ चैत्र २०७८, शनिबार १५:३७