तनहुँ–१ मा स्वर्णिम वाग्ले १४ हजार ७ सय मतान्तरसहित विजयी


सुर्खेत । तनहुँ–१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराएका हुन् । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

भट्टराईले २० हजार १ सय २२ मत ल्याएका थिए । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए । तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो ।

गत मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याउँदै विजयी भएका थिए । उनी राष्ट्रपति भएपछि तनहुँ–१ मा उपचुनाव भएको हो ।