सुर्खेत । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका छन् ।
बाग्मतीको प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै जम्कट्टेलले राजीनामा दिएका हुन् । साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए ।
नेपाली कांग्रेसले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नुवाकोटका सांसद बहादुरसिंह लामालाई अघि सार्ने निर्णय गरेको छ । आज बिहान मकवानपुरको हेटौँडामा बसेको नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि संसदीय दलका नेतासमेत रहेका लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको हो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने कार्यसूची रहेकोमा आफ्नो पक्षमा बहुमत नपुग्ने निश्चित भएपछि राजीनामा दिएका हुन ।
एमाले र कांग्रेसको सहमतिअनुसार बाग्मतीको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउनेछ । त्यसैले अब बाग्मतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त हुने पक्का पक्की जस्तै छ ।
यस्तै लुम्बिनीका मुख्यमन्त्री जोखबहाखुर महराले समेत र राजीनामाको घोषणा गरेका छन् । विश्वासको मतका लागि डाकिएको बैठकमा महराले राजीनामाको घोषणा गरेका हुन् ।
सहमतिअनुसार अब लुम्बिनीको मुख्यमन्त्री एमाले संसदीय दलका नेता लीला गिरी बन्ने भएका छन् ।
फरकबाटो ६ श्रावण २०८१, आईतवार १९:४३