स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र छप्न सुरू

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रमा आजदेखि स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरिएको छ ।

केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले नेपाली सेनाको निगरामीमा बिहीबारबाट मतपत्र छपाई सुरु भएको जानकारी दिए । साथै निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले परीक्षणका रूपम नमुना मतपत्र छाप्न थालिएको बताए ।

निर्वाचन आयोगका आयुक्त दिनेशकुमार थपलियालगायत आयोगका पदाधिकारीहरु र नेपाली सेनाको उपस्थितिमा नमुना मतपत्र छपाईको उद्घाटन भएको उनले जानकारी दिए ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छापिने छन् । स्वीकृत अन्तिम मतदाता नामावली बमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहे पनि करिब १५ प्रतिशत बढी मतपत्र छापिने आयोगले जनाएको छ ।
आयोगले दुर्गम क्षेत्रमा समयमै मतपत्र पठाउन मतदान हुनुभन्दा १५ दिनअघि नै मतपत्र छपाइ कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ ।