सुर्खेत । ‘निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको व्यक्तिगत स्वतन्त्रतामाथी वारिसेको दबदबा कहिले सम्म ? मैले त भोट जसो तसो हालेँ । सुरक्षाकर्मीज्युहरुले पनि राम्रै व्यवहार गर्नुभयो । गेटबाट भित्र जानलाई धेरैले सहयोग पनि गर्नुभयो तर मेरो ह्विल चिअर भित्रसम्म लैजानलाई नत छुट्टै बाटो थियो नत फराकिलो नै !
गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन अपाङ्गतामैत्री नभएको भन्दै वीरेन्द्रनगर १० सुर्खेतका नन्दप्रसाद चौलागाईले प्रश्न गरे ।
बिहिबार शान्तिका लागि साझा अभियान (कोक्याप) ले आयोजना गरेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को प्रादेशिक समिक्षा कार्यक्रममा उनले खुलेरै प्रश्न गर्न भ्याए ।
आँफुले मताधिकारको प्रयोग गर्न पाएपनि ह्विल चिअर लग्न मिल्ने प्रशस्त स्थान नभएको, दृष्टिबिहिनहरुका लागि सांकेतिक चिन्हहरु नभएको भन्दै प्रदेश राजधानीको त यस्तो हालत भएपछि कर्णालीका दुर्गममा बस्ने अपाङ्गता भएका व्यक्तिहरुको अवस्था सहजै अनुमान गर्न सकिने उनले तर्क गरे ।
डब्लु एच् ओको तथ्याँक अनुसार नेपालमा ३० लाख भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु भएपनि उनीहरु कहिल्यै नेतृत्वमा आउन नसक्ने उनले सुनाए ।
उनी मात्रै होइन यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायबाट कार्यक्रममा प्रतिनिधित्व गरेकी अञ्जली वि.सीले त यौनिक अल्पसंख्यकहरु मतदान स्थलमा अममानित हुनुपर्ने बताईन् । ‘हामीहरुका लागि छुट्टै लाइन हुँदैन, उनले भनिन् “ भोट हाल्न जाँदा पुरुषको लाइनमा लाग्नु कि महिलाको ?
कार्यक्रममा सहभागी ममता अधिकारीले साविकको कर्णालीका अधिकाँश महिलाहरु मताधिकारबाट बञ्चित भएको भन्दै यसमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने बताईन् । ‘कर्णालीका अधिकाँश महिलाको मताधिकार श्रीमान् वा अन्य परिवारकै पुरुष सदस्यको हातमा हुन्छ , उनले भनिन्“ भोट हाल्न सक्नेलाई पनि जबरजस्ती बाहान बनाउन लगाएर उनीहरुको वारिसेमा भोट श्रीमान्ले नै हालिदिन्छन् । यसमा दोषी को ?
कार्यक्रममा सहभागी हुम्ला जिल्लाकी विष्णुदेवी रावलले कर्णालीका विकट जिल्लाहरुमा नागरिकहरुले ढुक्कले भोट हाल्न नपाउने सुनाईन् । ठेक्का प्रणाली जस्तो राजनितिक दलहरुले ठाउँ नै कब्जा गर्ने अवस्था रहेकोमा निर्वाचन आयोगको ध्यान जानुपर्ने उनले तर्क गरिन् ।
कार्यक्रममा सहभागी अधिकाँशले कर्णालीमा प्रत्यक्ष धाँधली नभएपनि अप्रत्यक्षरुपमा भोट किनबेचको खेल, सार्वजनिक पदमा बस्नेहरुले विकासको ललिपप देखाउने लगाएतका धाँधली गर्ने गरेको बताए ।
विशेषगरी यो निर्वाचनमा नागरिकहरुको उत्साह कम र मतदाता शिक्षा निकै कमजोर भएको महशुष भएको सहभागीहरुले सुनाएका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका मानबहादुर कार्कीले निर्वाचनका समयमा तिनतहको अनुगमन आयोगले गरेको र यसमा सबै सरोकारवाला निकायले यसैगरी अनुमगन गर्नुपर्ने धारणा राखे ।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले कर्णालीको भौगोलिक विकटता, वारेसमा समस्या र बुझाइमा कमी तथा खटाइएको कर्मचारीको व्यक्तिगत आचरणका कारण पनि नागरिकहरुले दुख पाउने अवस्था भएको स्विकार गरे ।
उनले तुलनात्मक रुपमा मतदाता शिक्षामा कमी भएको भन्दै यसलाई सुधार गर्ने कुरामा आयोग केन्द्रसंग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जबसम्म नागरिकहरु कमजोर हुन्छन् तबसम्म नागरिकको भावनासंग राजनितिक नेतृत्वहरुले खेलिरहने भन्दै यसमा सचेत रहन सबैलाई उनले आग्रह समेत गरे ।
कार्यक्रममा विभिन्न नागरिक समाज अगुवा, सञ्चारकर्मी, पर्यवेक्षक लगाएतको सहभागीता रहेको थियो ।
सीता वली २९ मंसिर २०७९, बिहीबार १९:४१