
सुर्खेत । राष्ट्रिय जनगणनामा ‘वाचडग’ को रुपमा रहन सञ्चारकर्मीहरुलाई आग्रह गरिएको छ । मिडिया एक्सन नेपालले आइतबार आयोजना गरेको एकदिवसिय प्रशिक्षण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुलाई यस्तो आग्रह गरिएको हो ।
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मुल नाराका साथ कार्तिक २५ देखी मंसिर ९ गते सम्म सञ्चालन हुने राष्ट्रिय जनगणना २०७८ लाई सफल बनाउन समेत आग्रह गरिएको छ । सबै नागरिकको जनगणनामा सहभागिता भएनभएको, पर्यवेक्षकहरु नागरिकको घरदैलोसम्म पुगेनपुगेको समेत निगरानी गर्न सञ्चारमाध्यमहरुलाई आग्रह गरिएको हो ।
प्रशिक्षणमा जनगणना सम्बन्धि रिपोर्टिङ् कसरी गर्ने, रिपोर्टिङको विषय, कानुनी प्रावधान, भ्रामक सुचना पहिचान तथा जनगणनाको महत्वको विषयमा समेत जानकारी गराईएको थियो । जनगणनाको आवश्यकता, तथ्यांकको महत्व र जनगणनामा टिपोट गरिएको विषयको गोपनियता र प्रयोगका विषयमा समेत सञ्चारकर्मीहरुलाई प्रशिक्षित गरिएको हो ।
कार्यक्रममा प्रशिक्षकको रुपमा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त, केन्द्रीय तथ्यांक विभागका उपनिर्देशक डा. हेमराज रेग्मी, तथ्यांकशास्त्री सहनलक्ष्मी ताम्राकार र मिडिया विज्ञ कल्पना आचार्य रहेका थिए ।

केन्द्रीय तथ्यांक विभागका उपनिर्देशक डा. हेमराज रेग्मीले जनगणनालाई सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । उनले २०७८ सालको जनगणनामा थुप्रै प्रश्नहरु परिमार्जित भई आएकोले यसमा सहभागी हुन नागरिकहरुलाई आग्रह गरे । ‘हरेक दशवर्षमा हुने जनगणनामा नागरिकहरु अनिवार्य सहभागी हुनुपर्छ ।, उनले भने “जनगणनाले राज्यको निती निर्माणमा ठुलो भुमिका खेल्छ ।” सानो –सानो प्रश्न समेत जनगणनामा सोधिने भएकोले नागरिकहरुले घरमा गणक आएको समयमा सत्य सुचना दिन आग्रह समेत उनले गरे । यो पटक राष्ट्रिय जनगणनामा ८० वटा प्रश्न समावेश भएको भन्दै उनले नागरिकहरुले जनगणनाको महत्वलाई बुझेर गणकलाई सहयोग गर्नुपर्ने बताए ।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले कार्तिक २५ देखी मंसिर ९ गतेसम्म गणकहरु घरदैलोमा नपुगे गुनासो तथा सुझावको लागि टोल फ्रि नं ११७८ मा फोन गर्न समेत नागरिकहरुलाई आग्रह गरे । नागरिकहरु जनगणनामा आँफै पनि सचेत भएर गणक नपुगेको अवस्थामा केन्द्रिय तथ्यांक विभागमा गुनासो गर्न र आफ्नो विवरण टिपाउन सक्ने पन्तले बताए ।
केन्द्रिय तथ्यांक विभाग र यु.एन्.एफ्.पि. ए को सहकार्यमा आयोजित कार्यक्रम यु.के.एडको सहयोगमा सञ्चालन गरिएको थियो । कार्यक्रममा २५ जना पत्रकारहरुको सहभागीता रहेको थियो ।
नेपालमा जनगणना गर्ने कार्य विस. १९६८ बाट सूरु गरिएको हो । १० बर्षको अन्तरालमा गरिने जनगणनाकै आधारमा राज्यले निती निर्माण तथा विकास निर्माणका काम गर्ने गर्दछ ।

फरकबाटो ७ कार्तिक २०७८, आईतवार १९:५०