
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निधनपछि आफ्नो शरीरका सबै अङ्ग दान गर्ने घोषणा गरेका छन् । आज शुक्रवार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो मृत्युपछि सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु ।’
उनले, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन । यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।’
प्रधानमन्त्री प्रचण्डले केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता रहेकोले यसलाई सम्बोधन गर्ने बताएका छन् । उनले थपे , ‘अघिल्लो पटक म प्रधानमन्त्री हुँदा सल्लाघारीमा रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ । मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु । यसलाई सम्बोधन गरिनेछ ।’
प्रधानमन्त्री प्रचण्डले नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनराशी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेकोमा त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको बताए । मिर्गौला प्रत्यारोपणका लागि वार्षिकरूपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न खेलेको भूमिकाका लागि केन्द्रलाई धन्यवाद समेत उनले दिए ।

फरकबाटो ६ माघ २०७९, शुक्रबार १३:१४