सुर्खेत । निकट भविष्यमा नगरपालिकालाई उपमहानगरपालिका घोषणा गर्ने तयारी गरेको वीरेन्द्रनगर नगरपालिका सुर्खेतले उपत्यका क्षेत्रका दुई स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ ।
वीरेन्द्रनगर रत्नराजमार्ग स्थित मंगलगढी चोक र ऐरीचोकमा आकाशे पुल निर्माणका लागि टेन्डरको तयारी गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहानमाया ढकालले बताईन् ।
आज वीरेन्द्रनगर नगरपालिका १४ गढी सुर्खेतमा नेपाल पत्रकार महासंघ सुर्खेतको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा आयोजित पत्रकारहरुसँग अन्तर्रक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘वीरेन्द्रनगर कर्णाली प्रदेशको मुटु हो उनले भनिन्, “यहाँ दिनप्रतिदिन ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । त्यसैले हामीहरुले ट्राफिक व्यवस्थापनका लागि आकाशे पुल निर्माण गर्न लागेका हौं ।” उनले यो सँगै सडकमा लाइट तथा करिब दुईसय भन्दा बढी सिसि क्यामरा समेत जडानको तयारी भएको बताईन् ।
उनले थपिन् “हाम्रो नगरपालिकाले उपमहानगरपालिकाको मापदण्ड पुरा गरिसकेको छ अब छिटै नै यसको घोषणाका लागि पहल कदमी चाल्दैछौं ।” वीरेन्द्रनगर नगरपालिका उपमहानगरपालिका घोषणा भएपछि राजश्व बढी तिर्नुपर्छ भन्ने नागरिकहरुमा भ्रम भएको भन्दै उनले राजश्वको दायरा फराकिलो बनाउँदै आम्दानी अनुसारको राजश्व उठाउने र अनावश्यक रुपमा न्युन स्तरका नागरिकबाट राजश्व असुल नगर्ने मेयर ढकालले बताईन् ।
उनले सडक, खानेपानी, कृषि , स्वास्थ्य, शिक्षा , सामाजिक क्षेत्र लगायत थुप्रै क्षेत्रमा वीरेन्द्रनगर नगरपालिकाले राम्रो काम गरेको भन्दै नागरिकहरुले समेत सरकारले गरेको काममा चासो राखी सुझाव तथा सल्लाह दिन आग्रह गरिन् । नगरपालिकाको सेवाप्रवाहमा पारदर्शिता र जवाफदेहिता भएको भन्दै मेयर ढकालले सबैजसो सेवाहरु डिजिटल प्रक्रियाबाटै गर्ने गरेको बताईन् ।
कार्यक्रममा बाेल्दै उपप्रमुख निलकण्ठ खनालले न्यायिक समिति लगायत आफ्नाे क्षेत्राधिकारभित्रकाे काममा आँफु निरन्तर लागीपरेकाे बताए ।
पत्रकार महासंक सुर्खेतका अध्यक्ष शुसिलराज शर्माले आँफुहरु पत्रकारहरुकाे पेशागत हितका लागि सँधै प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद बास्काेटाले कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रशासकीय अधिकृत टंक प्रसाद लामिछाने लगायतको सहभागीता रहेको थियो भने चालिस जना भन्दा बढी पत्रकारहरुको उपस्थिति रहेको थियाे ।
फरकबाटो २८ फाल्गुन २०८१, बिहीबार २१:४३