उत्कृष्ठ कार्यसम्पादन गर्ने क्षमताले नै कार्यस्थलमा हुने दुव्र्यवहार कम हुन्छ : मेयर ढकाल


सुर्खेत । कार्यस्थलमा उत्कृष्ठ कार्यसम्पादन गर्ने क्षमताले नै दुव्र्यवहार कम हुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताएकी छन् । सोमबार सञ्चारिका समुह कर्णाली प्रदेशको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा आयोजित कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहार सम्बन्धी तालिम तथा अन्तर्रक्रिया कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी मेयर ढकालले  यस्तो बताएकी हुन् ।

पितृसत्तात्मक सोच भएका व्यक्तिहरु केही मात्रामा समाजमा भएपनि छोरा र छोरीको हैसियत बराबर देख्न चाहाने बुवाआमाहरु समेत हाम्रो समाजमा उत्तिकै मात्रामा रहेको उनले सुनाईन् । ‘हामी अधिकार खोज्दै पद प्राप्ती गर्ने होइन उत्कृष्ठ कार्यसम्पादन गर्न सक्ने क्षमता विकास गरेर नेतृत्वमा पुग्न सक्नु पर्छ’ उनले भनिन् “मैले मेरो कार्यस्थलमा उत्कृष्ठ कार्यसम्पादन गर्न सकेँ भने विभेदको कुनै महशुष गर्नुपर्दैन ।” तर आजपनि महिलाहरुको क्षमता विकास गर्ने कुरामा भने बन्देज लगाउन खोज्नेहरुकै कारण विभेद र दुव्र्यवहार कायमै रहेको उनले जिकिर गरिन् ।

कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहारका विरुद्ध कार्यस्थलमा खटिनेहरुले नै विरोध गर्नुपर्ने उनले बताइन् । सरकारले नीति निर्माण तथा कानून बनाउने कुरामा भुमिका खेल्नुपर्ने र आँफुहरुले समेत यस्ता खालका हिंसा र दुव्र्यवहार विरुद्धका अभियानहरुमा सदैव साथ र सहयोग गर्ने गरेको मेयर ढकालको भनाई रहेको थियो ।

महिला सशक्तिकरणमा लगानी गर्दै हिंसा र दुव्र्यवहार न्युनिकरणमा विभिन्न सरोकारवाला निकायहरुले समेत ध्यान दिनुपर्ने ढकाल बताईन् ।

दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा प्रशिक्षकका रुपमा टिका विष्टले कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहारबाट कसरी आँफुलाई सुरक्षित राख्ने तथा कानुनी उपचार के हुन सक्छ ? भन्ने विषयमा सहजीकरण गरेकी थिइन् ।

त्यस्तै कार्यस्थलमा हुने हिंसामा कर्णालीको अवस्था, तथा तथ्याँकमा कर्णालीका विषयमा कर्णाली प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक (एस्एस्पी) वीरबहादुर वली तथा प्रहरी सहायक निरीक्षक कर्णकुमारी वलीले समेत सहजीकरण गरेका थिए ।

भोली भने सरोकारवाला निकायहरुसँग सोही विषयमा छलफल र अन्तर्रक्रिया तथा कार्यस्थल सुरक्षित बनाउने विषयमा प्रतिवद्धता समेत हुने आयोजक संस्थाले जानकारी दिएको छ ।