किशोरीहरुलाई हिंसा विरुद्ध आत्मरक्षा तालिम

सुर्खेत । किशोरीहरुलाई हिंसा विरुद्ध आत्मरक्षा तालिम दिन थालिएको छ । पछिल्लो समय विभिन्न संघसंस्थाले किशोरीहरुलाई आत्म रक्षाको तालिम दिन थालेका छन् । महिला तथा बालिकाहरु माथि विभिन्न किसिकमा हिंसा र विभेदहरुको प्रतिकार गर्न र आत्मविश्वासी बनाउन किशोरीहरुलाई आत्मरक्षाको तालिम दिन थालिएको हो ।

केही दिन अघि सामाजिक विकास मन्त्रालय र सुर्खेत महिला जेसीजले वीरेन्द्रनगरका पाँच वटा विद्यालयका छात्राहरुलाई आत्मरक्षाको तालिम आयोजना गरिएको थियो । श्रीकृष्ण संस्कृत तथा साधारण मावि, नेपाल राष्ट्रिय मावि, शिव मावि, नेपाल राष्ट्रिय आधारभूत विद्यालय र हरिडिलभूमि माविमा गरेर करिब १५० जना छात्राहरुलाई आत्मरक्षाको तालिम दिइएको थियो ।

कराँते प्रशिक्षक सोना थापाले आफुले डेढ वर्षदेखि विभिन्न संघसंस्थाको समन्वयमा आफुले आत्मरक्षाको तालिम दिँदै आएको बताइन् । उनले बालिका तथा किशोरीहरुलाई आत्मरक्षा तालिम आवश्यक रहेको बताइन् । सरकारले नै प्रत्येक विद्यालयमा किशोरीहरुलाई मलाई केही हुन वित्तिकै प्रतिकार गर्न सक्छु भनेर प्रतिकार गर्न सक्ने आत्मविश्वास गराउनुपर्ने उनको भनाई छ । उनले भनिन्, ‘अहिलेसम्म मैले धेरै बालिका, किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम दिएको छु । किशोरी, बालिका माथि हिंसा भएको सुनिन्छ । उनीहरुका लागि प्रतिकार र आत्मरक्षाका लागि एकदमै आवश्यक छ ।’

महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्दे आएकी अधिकारकर्मी तथा वरिष्ठ मनोविमर्शकर्ता निशा पौडेल पछिल्लो परिवेशमा विशेष गरेर किशोरीहरुका लागि आत्मरक्षा तालिम आवश्यक रहेको बताउछिन् । उनले भनिन्, ‘अहिले विभिन्न घटना तथा हिंसाको सिकार हुन पुगेका छन् । विभिन्न प्राकृतिक प्रकोपबाट पनि बालिका, किशोरीहरु प्रभावित हुन्छन् । बालिका तथा किशोरीले आफु माथि हुने जोखिम वा असुरक्षित भएकाले अवस्थामा आफू कमजोर छैन् र प्रतिकार गर्न सक्छु भन्ने आत्मविश्वासका लागि आत्मरक्षा तालिमको आवश्यक छ ।’

आवाजले पनि २५ जना किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको थियो । किशोरीहरुको कमजोर मानसिकतालाई परिवर्तन गरी आत्मविश्वासि बन्न, कठिन परिस्थितिमा पनि नडराई हिंसाको विरुद्धमा प्रतिरोध गर्न यो तालिमको आवश्यक रहेको बताउछन् । पञ्चपुरी नगरपालिका १० का किशोरी सुनिता अधिकारीले तालिम पछि आफु असुरक्षित भएको समयमा प्रतिकार गर्ने आत्मविश्वास बढेको बताछिन् । उनले आफुले सिकेको कुराहरुलाई आफ्नो विद्यालय र समूहका साथीहरुलाई सिकाउने बताइन् । सोही ठाउँका किशोरी मिना बिकले पनि आफुमा आत्मविश्वास बढेको र आफुलाई केही समस्या भए प्रतिकार गर्न सकने आत्मविश्वास बढेको बताइन् ।

आवाज संस्थाका कार्यक्रम संयोजक सुशीलकुमार कार्की तालिममा दुव्र्यवहार, हिंसा र आक्रमण भएको अवस्थामा पनि कसरी आफुलाई सुरक्षित गरि आत्मरक्षा गर्ने र किशोरीहरुलाई सशक्त, सक्षम र आत्मविश्वास वृद्धि गराउन तालिममा सिप सिकाइएको जानकारी दिए । उनका अनुसार आत्मरक्षा तालिममा सहभागी भएका किशोरीहरुले आफुले अध्ययन गर्ने विद्यालय र समूहमा गएर सिकाउने छन् ।

सामाजिक विकास मन्त्रालयका अनिता ज्ञवालीले समाजमा विभिन्न विकृतीका घटनाहरु घटिरहेकोले बालिका तथा किशोरीहरुका लागि आत्मरक्षा तालिम आवश्यक रहेको बताछिन् । ‘बालिका र किशोरीहरुमा हिंसाबाट बच्न कमजोर छैनौँ र बलिया छौँ भनेर डराउनुहुँदैन् भन्ने आत्मविश्वास बनाउनका लागि आत्मरक्षा तालिम आवश्यक छ’ उनले भनिन्, ‘कसैले आफु माथि केही गर्यो भने प्रतिकार गर्न सक्ने आँट गर्न सक्ने वातावरण गराउन अहिले आत्मरक्षाको तालिमको आवश्यकता रहेकाले मन्त्रालयले गरेको हो ।’