आगामी २७ गतेसम्म कर्णालीमा मुख्यमन्त्रीका लागि दावी पेश गरिसक्नुपर्ने


सुर्खेत । आगमी २७ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आव्हान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले हिजो बिहिबार विज्ञप्ती प्रकाशन गरि दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गर्न आव्हान गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनैपनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले संविधानका धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गर्न आव्हान गरिएको हो ।

कर्णाली प्रदेशमा ४० जना सांसद रहेका छन् । जसका लागि सरकार निर्माणमा २१ सांसद आवश्यक पर्छ । तर कुनैपनि दलले स्पष्ट बहुमत ल्याउन सकेका छैनन् । नेपाली काँग्रेस १४, नेकपा माओबादी १३, नेकपा एमाले १०, राप्रपा १, स्वतन्त्र १ र एकिकृत समाजबादीको १ गरी ४० जना सांसद निर्वाचित भएका हुन् । जसमा तिन ठुला दल मध्य दुईवटा ठुला दलको समर्थनमा सरकार बन्न सक्छ ।

तत्कालिन सत्ता गठबन्धन (नेपाली काँग्रेस, नेकपा माओबादी , एकिकृत समाजबादी ) तोडिएपछि नयाँ गठबन्धनको सरकार (नेकपा एमाल, नेकपा माओबादी लगाएतको गठबन्धनको सरकार बन्ने पक्का छ तर त्यसमा पनि कुन पार्टीको भागमा मुख्यमन्त्री पर्ने भन्ने कुरामै विवाद छ ।

पाँचवर्ष पहिले बाम गठबन्धनको तर्फबाट नेकपा माओबादीले मुख्यमन्त्री प्राप्त गरेको हिसाबले अहिले कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री पाउनुपर्ने तर्क नेताहरुको छ ।