डोल्पामा जिप दुर्घटना, नौ जना घाइते


सुर्खेत । डोल्पामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । आइतबार दिउसो करिब सवा तिन बजे जिप दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयका अनुसार डोल्पाको ठुलीभेरी नगरपालिका वडा नं ९ भित्तिमा स्टेरिङफेल भई जिप सडकबाट १५ मिटर तल खसेको हो ।

ठुलीभेरीबाट त्रिपुरासुन्दरी नगरपालिका १ सुपानेतर्फ जाँदै गरेको भे १ ज ९७५ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परि चालक सहित नौजना घाइते भएका छन् ।

दुर्घटनामा  ठुलीभेरी नगरपालिका ९ का बीस वर्षीय  चालक जुनकोष शाही, हेटौडा नगरपालिका वडा नं ९ मकवानपुरका ३८ वर्षीय विष्णु श्रेष्ठ, सोेहि स्थानका अशोक सारुमगर, हेटौडा नगरपालिका वडा नं ११ का २२ वर्षीय बुद्धिविर लामा, हेटौडा नगरपालिका वडा नं ४ का ३९ वर्षीय सुरेश श्रेष्ठ घाइते भएका हुन् ।

यस्तै दुर्घटनामा घाइते हुनेहरुमा हेटौडा नगरपालिका वडा नं ४ का ३८ वर्षीय रमेश गौतम, हेटौडा नगरपालिका वडा नं १० का ३६ वर्षीय सुशिलराज गिरी, हेटौडा नगरपालिका वडा नं ९ का ३१ वर्षीय जिवन शर्मा, हेटौडा नगरपालिका वडा नं ७ का ३८ वर्षीय किरण अधिकारी रहेको प्रहरीले बताएको छ । घाइते भएका नौजना मध्य तिनजनाको अवस्था गम्भिर रहेको र ६ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।