मौसम बद्लीसँगै घट्न थाल्यो अधिकतम तापक्रम

काठमाण्डौ । देशका पहाडी क्षेत्रको मौसम आज पनि आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।

मधेस प्रदेश र लुम्बिनी प्रदेशबाहेक अन्य पाँच प्रदेशका पहाडी क्षेत्रमा मौसम आज पनि आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।

दुईरतीन दिनयता नेपालमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । यही प्रभावका कारण पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ । मध्य दिउँसोको समयमा मौसम बद्ली हुन थालेकाले अधिकतम तापक्रम घट्न थालेको छ ।

३१ डिग्री सेल्सियसभन्दा माथि पुगेको काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस छ । यस्तै, ३७ डिग्री सेल्सियसभन्दा माथि पुगेको धरानको अधिकतम तापक्रम ३४ दशमलव ७ डिग्री सेल्सियस छ ।

काठमाण्डौ र धरानसहित देशका धेरैजसो ठाउँको अधिकतम तापक्रम घट्न थालेको छ । यसैबीच चट्याङ्ग पर्न थालेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । दिउँसो पछिको समयमा चट्याङ्ग पर्ने भएकाले यो समयमा सकेसम्म खेतबारीमा नजान मौसमविद्को सुझाव छ ।