आज काग र कुकुर तिहार मनाइँदै

सुर्खेत । आज काग र कुकुर तिहार मनाइँदैछ । तिथिका घटबढका कारण काग र कुकुर तिहार एकैदिन परेको छ ।

आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा दिइ काग तिहार मनाइन्छ । अघि बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि थियो । त्यसपछि चतुर्दशी तिथि लागेको छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा रामचन्द्र गौतमले बताए ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिइ खुसी पार्ने गरिएको हो ।

यस्तै,आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मुलढोकामा बस्ने कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।