प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्न आवश्यक छैन : प्रचण्ड

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्नु नपर्ने बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले आफूले पूरै गीत हेर्न नभ्याए पनि मिडियाबाट थाहा पाएको भन्दै गीतलाई लिएर कोही आवेगमा आउन नपर्ने बताएका हुन् । शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भनियो भने गलत हुने तर सशस्त्र द्वन्द्वका विषयमा केही टिप्पणी भने गर्न सकिने उनको भनाइ छ ।

सशस्त्र द्वन्द्वका विषयमा बहस भइरहने भएकाले यसबारे हुने तर्करवितर्क, पक्ष र विपक्षलाई स्वाभाविक रूपले लिनुपर्ने प्रचण्डको भनाइ छ । प्रकाश सपुतको गीतले जनयुद्धको अवमूल्यन गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले विरोध गरिरहेको बेला प्रचण्डको यो भनाइ आएको हो ।

सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति आपत्ति जनाउँदै माओवादीका जनवर्गीय सङ्गठनका केही नेताले गीतको म्युजिक भिडियो युट्युबबाट हटाउन चेतावनी पनि दिएका छन् ।