समाजवादी मोर्चाले सातै प्रदेशमा ‘सन्देश सभा’ गर्ने


सुर्खेत । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।

बैठकले ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको नेताहरूले जनाकारी दिए ।

मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सभा गर्न लागिएको हो । मोर्चाले यो सभालाई ‘सन्देश सभा’ नाम दिएको छ ।

मोर्चाको बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थनसमेत गरेको नेताहरूले बताए । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।