लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ गते पुनः विश्वासको मत लिने


सुर्खेत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते पुनः विश्वासको मत लिने भएका छन् ।

नेकपा माओवादी केन्द्रलगायतका दलले सरकारलाई दिएको समर्थन गत चैत १२ गते फिर्ता लिएपछि एमालेबाट मुख्यमन्त्री बनेका गिरीले विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार जना सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ मत चाहिन्छ । प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री गिरीले यसअघि गत माघ ५ गते विश्वासको मत लिएका थिए । गिरी तत्कालीन सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।