
सुर्खेत । वीरेन्द्रनगर–५ कालिका मन्दिरकी ३३ वर्षीय लक्ष्मी नेपाली अटोरिक्सा चालक हुन् । एक वर्षदेखि वीरेन्द्रनगरमा उनले अटोरिक्सा चलाउँदै आएकी छन् । अटो रिक्सा चलाउनुअघि घर व्यवहार र छोरोछोरीको रेखदेखमै लक्ष्मीको दिन बित्थ्यो ।
उनका छोराछोरी बढ्दै गए । आवश्यकताहरू पनि बढ्दै गए । श्रीमान्को एक्लो कमाईले मात्रै घर खर्च धान्न मुस्किल भयो । त्यसमाथि आफूूलाई सानो–सानो खर्चका लागि पनि श्रीमान्कै भर पर्नुपथ्र्यो ।
वीरेन्द्रनगर नगरपालिकाले स्वरोजगार कार्यक्रममार्फत अटोरिक्सा सिकाएर महिलाहरूलाई अनुदानमा उपलब्ध गराउँदै आएको सुनिन् । त्यसपछि उनले नगरपालिकामा गइन् । त्यसबेलामा नगरपालिकाले सूचना प्रकाशित गरेकै थिएन् । उनका श्रीमान् पनि अटोरिक्सा चालक हुन् । उनले सिक्ने भए मै सिकाइदिन्छु भनेपछि उनलाई अझै आँट आयो । श्रीमान्कै सहयोगमा उनले अटोरिक्सा सिकिन् । कोरोनाका कारण लकडाउन भएको समयमा उनले उक्त समयलाई सदुपयोग गरिन् । लकडाउनको समयमा लक्ष्मीले अटोरिक्सा चलाउन सिकेपछि अटोरिक्सा किनेर चलाउन थालेकी हुन् ।
आर्थिकरुपले आत्मनिर्भर भए जीवन निर्वाह गर्न सहज हुन्छ भन्ने सोचले अटोरिक्सा चलाउन सिकेको उनी बताउँछिन् । ‘हामीहरू किन कमजोर हुने ? आफंै पनि कमाएर अघि बढ्न सक्छौँ भनेर मैले अटोरिक्सा चलाउन सिकेँ । श्रीमान्ले पनि अटोरिक्सा चलाउनुहुन्छ । उहाँले नै गर्दा मैले पनि अटोरिसक्सा चलाउन सिकेर अहिले आफै कमाइरहेको छु,’उनले भनिन् ।
अटोरिक्साबाट राम्रो आम्दानी भएको उनको भनाइ छ । लक्ष्मी अहिले श्रीमान्सँगै अटोरिक्सा चलाएर दैनिक तीन हजार बढी कमाउँछिन् । ‘दैनिक तीन हजार पैतिस सयसम्म पनि कमाई हुन्छ । केही नभए पनि तेल हालेर दैनिक एक हजार त बचत गर्छु’ उनले भनिन् ।
लक्ष्मी बिहान घरको काम सकेर दिउँसोको समयमा अटोरिक्सा चलाउँछिन् । घर व्यवहारमा दुवै जनाको कमाईले सहज भएको छ । दुवै जनाको कमाईले घर व्यवहार चलाउन, छोराछोरी बढाउन सहज भएको उनले बताइन् । अटोरिक्सा सिकेर आत्मनिर्भर बन्न चाहाने महिलारुलाई सिकाइनदिने उनी बताउँछिन् । ‘हामीले यत्तिकै बस्नु हुन्न । केही न केही काम गर्नुपर्छ । अटोरिक्सा सिक्न चाहानुहुन्छ भने आउनुस म सिकाइदिन्छु ।’ विभेद र अन्याय सहेर नबस्न उनी सुझाव दिन्छन् ।
अटोरिक्सा चलाउँदै गर्दा कहिलेकाँही यात्रुबाट समेत विभिन्न दुव्र्यवहार हुने गरेको उनले सुनाइन् । ‘केही व्यक्तिरु सहास दिनुहुन्छ । राम्रो गर्नुभयो भन्नुहुन्छ । कतिपयले महिला चालकहरूले राम्रोसँग अटोरिक्सा चलाउँछन् भनेर चढ्छन् । तर केही व्यक्तिहरू पछाडि बसेर दुव्र्यवहार गर्न खोज्छन् । एकपटक दुव्र्यहार गर्न खोज्ने व्यक्तिलाई मैले सबैको अघि कुटेको छु । यस्तो कुरामा हामी पछि पर्नुहुन्न भन्ने लाग्छ,’ लक्ष्मीले भनिन् ।

गीता थापा २४ फाल्गुन २०७८, मंगलवार १६:४८