विपत् व्यवस्थापन समितिलाई सक्रिय पार्न निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चिसो मौसमबाट आउन सक्ने सम्भाव्य जोखिमबाट बच्नस्थानीय विपत् व्यवस्थापन समितिलाई सक्रिय पार्न सबै पालिकालाई निर्देशन गरेको छ ।

चिसो मौसमबाट आउन सक्ने शीतलहर, हिउँ, घाम नलाग्नेलगायतका समस्याबाट बच्न स्थानीय विपत् व्यवस्थापन समितिलाई सक्रिय पार्न मन्त्रालयले सबै पालिकालाई निर्देशन गरेको हो ।

स्थानीय तहका सबै वडाले टोलटोलमा चिसो मौसमबाट बच्ने उपायबारे सचेतना अपनाउँदै आवश्यकताअनुसार दाउरा, इन्धन, कम्बललगायतका सामग्रीको भण्डारण गर्न बिहीबार मन्त्रालयले जारी गरेको परिपत्रमा उल्लेख छ ।

चिसो मौसमबाट ज्येष्ठ नागरिक, असहाय, गर्भवती, सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्ने व्यवस्था मिलाउन मन्त्रालयले ७५३ वटै पालिकालाई परिपत्र गरेको हो ।