नागरिकको दुःखमा भइएन भने त्यो नेता होइन, शोषक हो  : अमृत बि.सी

अमृत बहादुर वि.सी

अमृत बहादुर वि.सी. शिक्षा, सहकारी र राजनीति मार्फत समाजसेवाका क्षेत्रमा सुर्खेत, दैलेख र कर्णाली प्रदेशमै चिरपरिचित नाम हो । २०१६ सालमा दैलेखको जोरेबाँझमा जन्मिनुभएका विसीको प्राथमिक तहको शिक्षा दैलेखकै पिलाडीबाट सुरु भयो । पछि परिवारको बसाई सराई तत्कालिन लाटिकोइली गाविस हालको वीरेन्द्रनगर १० मनिकापुरमा भयो ।

विसीले माध्यामिक तहको शिक्षा पनि वीरेन्द्रनगरको जन माध्यामिक विद्यालयबाट पूरा गरेका हुन् । शिक्षा क्याम्पस नेपालगञ्जबाट आइ एड पूरा गरेपछि शिक्षण पेशामा जोडिएका उनले स्नातक र स्नातकोत्तर भने सुर्खेतबाटै पूरा गरेका हुन् ।

सानैबाट जिज्ञासु र अरुको सेवामा रुचि राख्ने विसी स्कूले जीवनदेखि नै राजनीति प्रति चासो राख्थे । पञ्चायतकालमा राजनीतिक गतिविधि प्रतिवन्धित अवस्थामै विसी राजनीतिक पत्र पत्रिका, दस्तावेजहरु अध्ययन गर्ने, गोप्य छलफलहरुमा सहभागी हुने गर्थे ।

२०३५ सालदेखि भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु) मा आबद्ध भए । विद्यार्थी संगठनको सदस्यका हिसाबले विसीले २०३६ सालको आन्दोलनमा सक्रियातापूर्वक भाग लिए । २०३८ सालदेखि भने उनले शिक्षण पेशा अंगाले ।

१५ बर्ष शिक्षण पेशामा हुँदा विसीले शिक्षक संगठनको सदस्य भएर राजनीतिक गतिविधिमा सहभगिता जनाएका उनी शिक्षण पेशामै रहँदा आफूले शिक्षण गर्ने ठाउँमा बहुदल र प्रजातन्त्रका बारेमा गोप्य रुपमा प्रचार प्रसार गर्ने, संगठन निर्माण गर्ने, समुदायमा जागरण पैदा गर्ने कुरामा लागि रहे ।

२०४६ सालको जनआन्दोलन र त्यसपछि प्रजातन्त्र, लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा उनले सक्रिय सहभागिता समेत देखाए ।

२०४७ सालमा प्रजातन्त्र प्राप्तिपछि विसीले तत्कालिन नेकपा माले पार्टीको सदस्यता लिएर राजनीतिमा थप सक्रिय भएर उनी लागे । शिक्षण पेशासंगै राजनीति मार्फत समाज सेवामा सक्रिय विसीको मूल्यांकन गरेर पार्टी जनप्रतिनिधिका लागि टिकट दिने निर्णय ग¥यो । पार्टीको निर्णय र राजनीति मार्फत समुदाय, समाज र राष्ट्रको अवस्था बदल्ने आफ्नो चाहानालाई प्राथमिकतामा राखी सेवा निवृत्त हुनै लागेको जागिरबाट राजीनामा दिएर चुनावमा होमिए ।

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा लाटिकोइली गाउँ विकास समितिको अध्यक्षमा नेकपा एमालेको तर्फबाट लोकप्रिय मतप्राप्तगरी विसीले विजय हाँसिल गरे ।

लाटिकोइली गाविस सदरमुकाम वीरेन्द्रनगर नगरपालिकासंग जोडिएको भएपनि शिक्षा, स्वास्थ्य तथा विकासका हिसाबले पछाडी परेको थियो । त्यस्तो अवस्थालाई बदल्न उनले समुदायमा जनचेतना ल्याउनेदेखि आवश्यक स्रोत साधन र योजना ल्याउन तत्कालिन जिल्ला विकास समिति हुँदै नेपाल सरकारसम्म पहल कदमीमा तल्लिन भएर लागे ।

गाविस अध्यक्षको कार्यकाल सकिएको लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन सकेन । स्थानीय निकायमा झण्डै दुई दशकसम्म जनप्रतिनिधिविहन अवस्थामा विसीले सधैँ पूर्व जनप्रतिनिधिका हिसाबले जनताको कामलाई प्राथमिकता दिएर दुख सुखमा सहभागी भए ।

जनप्रतिनिधिको कार्यकाल सकिएपछि विसी विभिन्न सामाजिक संघ संस्था, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, गाउँ शिक्षा समिति अध्यक्ष, सामुदायिक वन, काँक्रेविहार संरक्षण क्षेत्र लगायतमा नेतृत्वदायी भूमिकामा आवद्ध रहेर समाज सेवालाई निरन्तरता दिए । सुर्खेतमा सहकारी अभियानमा पनि विसीको उत्तिकै योगदान छ । विगत १५ बर्षदेखि सहकारी अभियानमा सक्रिय रुपमा लाग्नुभएका विसीले एक दशक बढी जिल्ला सहकारी संघको नेतृत्व गरिसकेका छन् ।

समाज सेवासंगै पार्टी राजनीतिलाई पनि संगसंगै अघि बढाएका विसी २०५६ सालदेखि जिल्ला कमिटि सुर्खेतमा छन् । उनले उपाध्यक्ष हुँदै हाल जिल्ला पार्टी अध्यक्षका रुपमा नेकपा एमालेको नेतृत्व गरिरहेका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभाको उमेद्वार उठाएको छ । मिजासिलो स्वभाव, समाजसेवामा तल्लिन, पार्टी सहकारी र विभिन्न संघ संस्थामा तल्लो तहदेखि जिल्ला स्तरमा सफल नेतृत्वकर्ताको छवि बनाएका विसी पढेलेखेका, भिजनरी नेताका रुपमा परिचित छन् । इमान्दारिता, पारदर्शीता र निश्पक्षताको प्रायःका रुपमा जनतामाझ स्थापित विसी सुर्खेती जनताको प्रिय नेताका रुपमा चिनिन्छन् ।

‘म संधै नागरिकको सेवक बन्न चाहान्छु,  उनी भन्छन् “ सेवा गरिएन र नागरिकको दुखमा भइएन भने त्यो नेता होइन शोषक हो ।”

उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको सुर्य चिन्हमा भोट दिन सम्पुर्ण नागरिकहरुलाई आग्रह गर्दै आँफुले राजनिति गर्दा एउटा पार्टी रोजेपनि नागरिकको अधिकारको लागि कसैलाई पार्टीगत रुपमा नहेरेको तर्क गरे ।

उनले थपे“ मैले निर्वाचनमा भाग नलिँदापनि जनताको सेवा रातदिन नभनी गरेको छु । अँभैपनि त्यसरी नै अगाडी बढ्नेछु ।” विशेषगरी सिमान्तकृत समुदायको हकहित तथा युवाहरुलाई रोजगारी, कृषिमा नयाँ आयाम ल्याउने कुरामा आँफुले जोड दिने उनले बताए ।