
सुर्खेत । कालिकोटको तीलागुफा नगरपालिका वडा नं ३ का कृष्ण हमालको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै मृतकका परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।
मृतकका बुबा हिराचन्द्र हमालले आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी सहायक निरीक्षक शेर सिंह थामीका विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धामा जाहेरी दिएका हुन् । शनिबार राती नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगर स्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा प्रहरी सहायक निरीक्षक धामीले मापसे गरेको भन्दै हमाललाई कुटपिट गरेको र कुटपिटका कारण मृत्यु भएको आफन्तको आरोप छ । हमालको शनिबार बिहान मृत्यु भएको थियो । शनिबार बिहान बेहोस् भए पछि हमाललाई वीरेन्द्रनगर स्थित सुर्खेत अस्पतालमा उपचारका लागि गरिएको र अस्पतालले प्रशासनले अस्पताल आउनु अघि नै मृत्यु भएको जानकारी दिएको थियो ।
सुब्बाकुना प्रहरी चेकपोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक धामीले हमाललाई कुटपिट गरेको र कुटपिटका कारण मृत्यु भएको आफन्तको आरोप छ । दर्ता गरिएको जाहेरीमा प्रहरीको कुटाईबाट मृतक हमालको शरीलको संवेदनशिल भागहरु घाँटी, छाती र कोखालगायका विभिन्न भागहरुमा चोटपटक लागेर मृत्यु भएको भन्दै प्रहरी सहायक निरीक्षक धार्मीलाई कार्वाही गर्न माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी राम प्रसाद घर्तिले सहायक प्रहरी निरीक्षक धामीलाई पक्राउ गरेर अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासनले पनि घटनाको छानविनका लागि छानविन समिति बनाएर छानविन सुरु गरिसकेको छ ।

फरकबाटो २२ फाल्गुन २०७८, आईतवार १९:०४