सुर्खेतमा आत्माहत्या गर्नेको दर कायमै

सुर्खेत । सुर्खेत जिल्लामा आत्मा हत्याको दर कायमै रहेको छ । गत वर्षहरुको तुलनामा आत्माहत्याको दर कायमै रहेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार तीन आर्थिक वर्षमा ३ सय ५६ जनाले आत्मा हत्या गरेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा १ सय २९ जनाले आत्मा हत्या गरेका थिए । जसमा विष खाएर १९ जना, झुण्डिएर १ सय १० जना रहेको प्रहरीको तथ्याँक रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा १ सय २७ जना ले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । जसमा झुण्डिएर १ सय ४ जना , विष खाएर २२ जना र पानीमा हाम फालेर एक जनाले आत्माहत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७८/०८९ मा १ सय जनाले आत्मा हत्या गरेको तथ्याङ्क प्रहरीसंग छ । जसमा झुण्डिएर ७८ जना, विष खाएर २२ जना र पानीमा हाम फालेर एक जनाले आत्माहत्या गरेको कार्यालयका डिएस्पी सुरज कार्कीले जानकारी दिए ।

यस विषयमा मानव अधिकारकर्मी तथा आवाज संस्थाका निर्देशक पवित्रा शाहीले आत्मा हत्याको मुख्य कारण सामाजिक सञ्जालको दुरुपयोग तथा तनाव व्यवस्थापन गर्न नसकेर हुने गरेको बताईन् ।

भौतिक सुविधालाई आफूले भने जस्तो प्राप्त गर्न नसक्नु , विभिन्न किसिमका तनावका र आर्थिक तनावका कारण डिप्रेशनमा जानु र माया प्रेम पनि आत्माहत्याको कारण भएको उनले सुनाईन् । फेरी तनाव किन हुन्छ ? भन्ने कुरा पनि खोज्नु जरुरी भएको उनले बताइन् ।

यस्तै अधिवक्ता गीता कोइरालाले घरव्यवहार, सामाजिक लेनदेन, बालबालिकाको सन्दर्भमा अभिभावकले उनीहरूको माग पूरा नगरिदिँदा , महिलाको सन्दर्भमा महिला हिंसा, शारीरिक हिंसा, मानसिक हिंसा, यौनिक हिंसा, आर्थिक हिंसा हुनु पनि आत्माहत्याको कारण भएको बताईन् ।

राज्यले सबै व्यक्तिहरूलाई रोजगारको व्यवस्थापन गर्न नसक्नु ,खान लाउन अभाव भएकै कारण मान्छेले आत्मा हत्या गर्ने गरेको समेत उनले तर्क गरिन् ।