वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्यो


काठमाडौं । माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार माघ महिनामा मात्र ५४ हजार ४७० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको देखिएको छ ।

पछिल्लो समय कोरोना महामारी मथ्थर हुँदै गइरहेकाले पनि विभिन्न राष्ट्रहरुबाट कामदारको माग आएको हुँदा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पनि बढ्दै गएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुषालले बताए । । जसमध्ये ५० हजार ५३० जना पुरुष रहेका छन् भने तीन हजार ९४० जना महिला छन् ।

गत पुस महिनामा ६६ हजार ६२५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । चालू आवको साउन महिनामा २५ हजार ४२८ जना,भदौमा ३६ हजार ४०,असोजमा ३९ हजार ६७१,कार्तिकमा ५४ हजार ९१८ र मंसिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको थियो । तर, पुस र माघ महिनामा आएर संख्या बढ्ने क्रम रोकिएको छ ।