सुर्खेत । बाराको क्षेत्र नं.२ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अघि नेपाल(भारत सीमा नाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो ।
यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सूचनामा बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूर्ण राजमार्ग ९ वैशाख राति १२ बजेबाट १० गते साँझ ७ बजे सम्मकालागि सम्पूर्ण आवागमन बन्द गर्ने भनिएको छ ।
एम्बुलेन्स, दुध तथा औषधि बोकेका सवारी, खानेपानीका ट्यांकर, दमकल, दूरसंचार सेवा, शव वहान, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा, कुटनीतिक नियोगका सवारी र अनुमतिप्राप्त बाहेकका सावारी सञ्चालमा रोक लगाइएको छ ।
उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासन ऐन २०२८ को प्रावधान अनुसारको आदेश गरिएको हो ।
फरकबाटो ७ बैशाख २०८०, बिहीबार १३:०३