एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जाेगाउँछन्, मलाई ढुङ्गा हान्छन् : अध्यक्ष ओली

काठमाण्डाै । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटोमा हिँड्दा ढुङ्गा हानिएको टिप्पणी गरेका छन् ।

आज शुक्रवार पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा ओलीले एमसीसीविरुद्धको प्रदर्शनमा आफूलाई छानी–छानी ढुङ्गा हानेको बताएका हुन् । ‘तमासा पनि हदको हुन्छ नि, सरकारमा पनि उनै छन्’, उनले भने, ‘सरकारमा बस्नेहरूले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । प्रहरी देख्नै हुँदैन ढुङ्गा हान्न लगाउँछन् । मान्छे देख्नै हुँदैन ढुङ्गा हान्न लगाउँछन् । एमसीसी नेपालमा ल्याउन पाउँ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटामा हिँड्दा ढुङ्गा हान्दैनन् । ताली बजाउँछन् ।’

ओलीले थपे, ‘त्यही बाबुराम भट्टराई एमसीसी अगाडि बढाउनुपर्छ भन्ने मान्छे हिँड्दा ढुङ्गा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुङ्गा हानिँदैन । टेबुल गरेका छन् सभामुखले, उनलाई ढुङ्गा हानिँदैन । म बाटाबाट हिँड्छु, ढुङ्गा हान्छन् ।’