डाक्नेश्वरी नगरपालिका सप्तरीकी उपप्रमुख दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ


सुर्खेत । नेपाली नागरिकता लिन किर्ते कागजात प्रयोग गरेको भेटिएपछि प्रहरीले उपमेयरलाई पक्राउ गरेको छ । किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा अदालतबाट पक्राउपुर्जी जारी भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई नागरिकतासम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

उपप्रमुखका पति महेन्द्र यादव भने फरार रहेका छन् । डाकनेश्वरी नगरपालिकाका कृष्णकुमार यादवले उपप्रमुख मीरा दम्पति भारतीय नागरिक रहेको र किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारबाहीका लागि उजुरी दिएका थिए ।

यादवले किर्ते नागरिकताकै भरमा उम्मेदवारी दिएर स्थानीय तहको निर्वाचनमा एमालेबाट उपमेयर जितेकी थिइन । उपप्रमुख मीरा र उनका पति महेन्द्र भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्लाको निर्मली थानाअन्तर्गत मझारी ग्रामका बासिन्दा हुन् ।

उनीविरुद्ध प्रहरीले मुद्दा चलाउन नमानेपछि निवेदक मुद्दा दर्ताको माग गर्दै उच्च अदालत जनकपुरको राजविराज इजलासमा पुगेका थिए । उच्च अदालतको राजविराज इजलासले मुद्दा दर्ता गर्न आदेश जारी गरेपछि उनीहरूविरुद्ध आइतबार नागरिकता कसुरमा मुद्दा दर्ता गरिएको थियो ।