एमाले संसदीय दलको बैठक सुरु : चार न्यायाधीशलाई महाअभियोग लगाउनेबारे छलफल

काठमाण्डौ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाअभियोग प्रस्तावलाई काउन्टर दिनुपर्नेबारे छलफल भइरहेको छ ।

हिजोको सचिवालय बैठकमा पनि चार न्यायाधीशविरुद्ध महाअभियोग लगाएर काउन्टर दिनुपर्ने आवाज उठेको थियो । सर्वोच्च अदालतको न्यायिक प्रक्रियालाई प्रभावित पार्ने न्यायाधीशहरूलाई महाअभियोग लगाउनुपर्नेमा धेरै नेताहरुको जोड रहेको बैठकस्थलमा रहेका एमालेका एक नेताले बताएका छन् ।

प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा फैसला गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र मीरा खड्काविरुद्ध महाअभियोग लगाउनुपर्नेमा एमालेभित्र दबाब छ । यसबारे के गर्ने भन्नेबारे निर्णय नभएको र सबै घटनाक्रम बुझेर मात्रै संसदीय दलको बैठकले निर्णय गर्ने ती नेताको भनाइ छ ।

हिजोको सचिवालय बैठकपछि एमाले महासचिव शंकर पोखरेलले संसदीय दलले प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्नेबारे महत्त्वपूर्ण निर्णय गर्ने बताएका थिए । सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनले नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको भन्दै एमालेले यसको प्रतिवाद गर्ने र नागरिकलाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरिसकेको छ ।