आईएमई लाइफले प्रिमियममा आईपीओ जारी गर्ने

सुर्खेत । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो पटक प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । यो कम्पनी प्रिमियममा आईपीओ जारी गर्ने नेपालकै पहिलो बीमा कम्पनी हो ।

नेपाल धितो पत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको वेवसाइटमा विवरण पत्र प्रकाशनको लागी स्वीकृती भएको उल्लेख गरिएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापीटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ । यसै गरी जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ ।