आजदेखि चीनमा शीतकालीन ओलम्पिक सुरु हुँदै

एजेन्सी । चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल आईओसीले यो प्रतियोगितामा ९१ देशले भाग लिने जनाएको छ ।

प्रतियोगितामा एक सय नौ इभेन्ट्समा दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । २४औँ संस्करणको शीतकालीन ओलम्पिकको चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने तयारी छ । उद्घाटन तथा समापन समारोह बेइजिङ राष्ट्रिय रङ्गशालामा हुनेछ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपमा लागू हुने आयोजक चीनले जनाएको छ । शीतकालीन ओलम्पिक आउँदो फेब्रुअरी २० तारिखसम्म चल्नेछ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, भारतलगायतका देशले यो प्रतियोगितामा कुटनीतिक बहिष्कार गर्ने घोषणा गरिसकेका छन् ।

भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भारतीय विदेश मन्त्रालयलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले ओलम्पिकको बहानामा राजनीति गरिरहेको टिप्पणी गरेका छन् । पछिल्लो वर्ष भारत र चीनबीच गलवानको विषयमा विवाद भएको थियो। दुई देशबीच उच्च तहमा वार्ता भए पनि निष्कर्षमा पुग्न नसक्दा तनाव घटेको छैन ।