नेपाली क्रिकेट टोली आज ओमान जाँदै

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज मंगलबार ओमान प्रस्थान गर्दैछन् ।

विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार राति ८:३० बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । ​ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।  खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म  हुनेछ ।

समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् ।  समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।

नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ । नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ। समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ ।

फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

​छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।

सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ । यस्तै दोसो खेल युएईसँग फेब्रुअरी १२ मा खेल्दा नेपालले फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ । यस सिरिजलाई विश्वकप छनोटको अभ्यास खेलको रुपमा लिईएको छ ।