महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा ।  बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले महिला १० हजार मिटरमा स्वर्ण हात पारेकी छिन्। पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा उनले विभागीय टिमको चुनौती पन्छाउँदै स्वर्ण जितिन्। सन्तोषीले फाइनलमा नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण जित्दा एपिएफकी पुष्पा भण्डारी तेस्रो बनिन्।

दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी सन्तोषीले ३६ मिनेट १२.३६ सेकेन्डको समय निकाल्दै दौड पुरा गरेकी थिइन्। दोस्रो बनेकी पछाईले ३६ मिनेट २९ .४५ मा दौड सेकेन्डमा दौड पुरा गर्दा तेस्रो बनेकी पुष्पा भण्डारीले ३७ मिनेट ०४.२ सेकेन्डमा दुरी पुरा गरिन्।

सन्तोषीले इन्जुरीका बाबजुत दौड पुरा गरेको बताइन्। उनले गुरुहरूको निरन्तर हौसलाका कारण खेल त्याग्ने परिस्थितिबाट माथि उठ्दै स्वर्ण जितेको बताइन्। सन्तोषीले भनिन् ‘विभिन्न अप्ठ्यारो परिस्थितिका बाबजुत प्रतिस्पर्धा गरेर स्वर्ण जित्न पाउँदा खुसी छु।’