पश्चिमी वायुको प्रभावले हवाई र पर्वतारोहण क्षेत्र प्रभावित हुन सक्ने

काठमाण्डौ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बुधवार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको यो मौसमी प्रणालीको प्रभावले आउँदो तीन दिनसम्म मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलि बिहीवार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहनेछ । पर्सि शुक्रवार देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र शनिवार देशभरि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । आउँदो शनिवार पनि पश्चिमी वायुको प्रभाव रहने र आइतवारदेखि मौसममा क्रमिक रूपमा सुधार आउनेछ ।