गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए शपथ


सुर्खेत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीसहित मन्त्रीहरू नेकपा एमालेकी सीता सुन्दास, नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएका हुन् ।

मन्त्रीहरूको जिम्मेवारी भने तोकिएको छैन । उनीहरूले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् । ६० सदस्यीय प्रदेश सभामा अधिकारीले ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा हिजो सोमवार दाबी पेस गरेका थिए । उनलाई एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र एक जना सांसदको समर्थन रहेको छ ।

अधिकारीले संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रदेश प्रमुखको कार्यालयमा दाबी प्रस्तुत गरेका थिए । अधिकारीलाई प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।