कुष्ठरोग प्रभावितलाई राहत वितरण

कुष्ठरोगबाट प्रभावित तथा अपांगता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र साइनिङ अस्पताल आइ.एन.एफ सुर्खेतको संयुक्त आयोजनामा कुष्ठरोग प्रभावित तथा अपांगता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको हो । आइतबार ६९ औं कुष्ठरोग दिवसको अवसरमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो ।

आइ.एन.एफ सुर्खेतका गरिबी कोष मुल्याकंनकर्ता उदय हमालले आइतबार वीरेन्द्रनगरका २० जनालाई राहत वितरण गरिएको जानकारी दिए ।

पछिल्लो समय कोभिडका कारण आर्थिक अभावमा रहेका कुष्ठरोग प्रभावित तथा अपांगता भएका व्यक्तिहरुलाई सहयोग गरिएको बताए ।

नका अनुसार प्रति व्यक्ति एकबोरा चामल, तिनलिटर तेल, ६ केजी चामल, पाँचकेजी चिनि, पाँचकेजी आटा, १ पोका मिक्स मसला, २ पोका नुन, एकपोका मिक्स मसला र १ पोका चियापत्ति वितरण गरिएको हो ।

आगामी दिनमा पञ्चपुरी नगरपालिका, लेकवेशी नगरपालिका र चौकुने गाउँपालिकाका २० जनालाई सहयोग गरिने हमालले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रविन खड्काले कुष्ठरोग निवारणको चरणमा रहे पनि अझै पनि कुष्ठरोगका बिरामी पत्ता लागेकोले ध्यान दिनुपर्ने बताए । उनले कुष्ठरोग निवारण सम्बन्धी जनचेतना जगाउन सरोकारवालाहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।

कार्यालयका सुचना अधिकारी पदम केसीले कर्णालीमा पछिल्लो बिरामीको संख्या कम देखिएको बताए । उनले समयमै रोग पत्ता लगाएर नियमित रुपमा उपचार गरे पूर्ण रुपमा निको हुने भएकाले समयमै सचेत भएर उपचार गर्नुपर्ने जानकारी दिए । उनले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुको आत्मसम्मान हुनेगरी व्यवहार गर्नुपर्ने तर्क गरे ।