संविधानको मर्मअनुसार समयमै चुनाव गराउन राष्ट्रपतिको आग्रह


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको भावनाअनुसार तोकिएकै समयमा चुनाव गर्न सरकारलाई आग्रह गरेकी छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लोकतन्त्रको विशेषता नै आवधिक चुनाव भएकाले संविधानको मर्म र भावनाअनुसार स्थानीय तह र अन्य चुनाव गर्न आग्रह गरेकी हुन् ।

तोकिएको समयमा चुनाव गर्नु संविधानको कार्यान्वयनसँग पनि जोडिएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा राष्ट्रपतिले जोड दिएकी हुन् । भेटमा प्रधानमन्त्री देउवाले संविधानको मर्मअनुसार नै चुनाव गर्नका लागि छलफल भइरहेको बताए । सबै दलसँग छलफल गरेर चुनावको बारेमा छिटै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो ।