मृतकका परिवारलाई राहत दिने प्रधानमन्त्रीको घोषणा


सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई उचित राहत दिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका व्यक्तिका परिवारलाई उचित राहत दिने बताएका हुन । दुर्घटनाले आफू स्तव्ध भएको बताउँदै उनले निःशुल्क उपचार गर्ने जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ ।’

उनले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो । यसैगरी सोमबार कास्कीमा आठ जना र अछाममा चार जनाको मृत्यु भएको थियो ।