अधिकार प्रयोग गर्दा कर्तव्य भुल्नु हुँदैन : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अधिकार प्रयोग गर्दा नागरिकहरुले कर्तव्य भुल्न नहुने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले आईतबार सुर्खेतमा आयोजना गरेको कर्णालीमा व्यवसाय र मानव अधिकारको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै शाहीले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् भएकोतर्फ नागरिकहरु सचेत बन्नुपर्ने धारणा राखेका हुन् ।

संविधानमा सबैको हक अधिकारको सुनिश्चितता भएको भन्दै मुख्यमन्त्री शाहीले त्यसको पालनाका लागि राज्य, निजी क्षेत्र, नागरिक समाज सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्नुपर्ने सुनाए । राज्यका निकायसंगै हरेक नागरिकले इमान्दारितापूर्वक कर्तव्य पालना गर्न सके मानव अधिकारको संरक्षण हुने धारणा मुख्यमन्त्री शाहीले राखेका थिए ।

‘राम्रो कामलाई राम्रो भन्ने संस्कार बसाल्नुपर्छ ’ उनले भने “ सकारात्मक सोचले अगाडी बढियो भने काम गर्नेहरुलाई अझै उत्साह थपिन्छ ।” मुख्यमन्त्री शाहीले राज्यलाई प्रश्न गर्नुभन्दा पहिले आँफुले नागरिकको हैसियतले कर्तव्य पुरा गरेनगरेको बारे सोच्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता धु्रवकुमार श्रेष्ठले कर्णालीमा रोग, भोक, गरिबी नै मानव अधिकार संरक्षणमा चुनौति रहेको विचार व्यक्त गरे ।

त्यस्तै, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले उद्योग, व्यवसाय क्षेत्रबाट आम उपभोक्ताको अधिकार संरक्षण एवं मानव अधिकारको प्रर्वद्धनमा सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा भारतमा श्रम गर्न जाने श्रमीकको मानव अधिकार अवस्था अध्ययन अनुसन्धानलाई प्राध्यापक डा. गोबिन्द सुवेदीले प्रस्तुुतिकरण गरेको थिए ।

कार्यक्रममा जिल्ला बार एसोसियसनका तर्फबाट हिमालयजंग शाही, सुर्खेत उद्योग बाणीज्य संघका महासचिव भदै भण्डारी, सदस्य लक्ष्मण देवकोटा लगाएतले कर्णालीका मानव अधिकारको अवस्थाबारे धारणा राखेका थिए ।