भौतिक रुपमा कक्षा सञ्चालन गर्न एमाले निकट शिक्षक संगठनको माग

सुर्खेत । भौतिक रुपमा कक्षा सञ्चालन गर्न एमाले निकट शिक्षक संगठनले माग गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सुर्खेतले विद्यार्थी र शिक्षकहरुलाई खोप लगाई शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने माग राखेको हो ।

संगठनले मंगलबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी मार्फत शिक्षा विकास तथा प्रविधि मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएको हो ।

अध्यक्ष रत्न बहादुर बुढाद्धा र सचिव डिलाराम भण्डारीद्धारा हस्ताक्षिरित ज्ञापन पत्रमा सबै क्षेत्र बिनारोकतोेक चलिरहेको अवस्थामा विद्यालय बन्द गराउनुको सट्टा शिक्षक विद्यार्थीलाई यथाशिघ्र खोपको व्यवस्था गरी स्वास्थ्यका मापदण्ड पूरा गरी शैक्षिक क्रियाकलापलाई सुचारु गर्नुपर्ने उल्लेख गरिएको छ ।

संगठनले नेपाली शिक्षकका पेशागत समस्या समाधानका लागि नेपाल शिक्षक महासङ्घ तथा पेशागत सङ्घ सङ्गठनहरूसँग सरकारले गरेका सहमती इमानदारिताका साथ कार्यान्वयन गर्न समेत माग गरेको छ ।

शिक्षक सेवा आयोगको स्थायी पदपूर्तिका लागि गरिएको विज्ञापनमा वर्षौदेखि निरन्तर कार्यरत राहत अनुदान तथा करारमा काम गरिरहेका शिक्षकको लागि उमेरको हदबन्दी लगाई प्रतिस्पर्धाबाट बञ्चित नगर्न पनि संगठनले माग गरेको हो ।

राहत र करारमा कार्यरत शिक्षकलाई सञ्चित बिरामी बिदाको रकमको व्यवस्था गरिनुपर्ने, जीवन बीमाको व्यवस्था गरिनुपर्ने, लामो समयसम्म काम गरेका शिक्षकहरुलाई दरबन्दीको व्यवस्था गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने, अस्थायी सेवा अवधि जोड्नुपर्ने, निश्चित समयमा बढुवा हुने व्यवस्था गर्नूपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।