हामीले जत्तिको अवसर अरुले पाएका छैनन् :  धन्यबाद हाम्रो गुराँस गाउँपालिकालाई

दैलेख  । गुराँस गाउँपालिका वडा नं १ की इन्दिरा पुन मगर सोमबारदेखी सुरु भएको नमुना युवा संसद अभ्यास कार्यक्रममा सहभागी थिइन् । गुराँस गाउँपालिकाको आयोजना तथा महिला सशक्तिकरण मञ्च दैलेखको समन्वयमा आयोजित चारदिने गुराँस गाउँपालिका स्तरीय युवा क्लब गठन तथा नमुना युवा संसद अभ्यास कार्यक्रममा उनले सक्रिय भुमीका निर्वाह गरिन् ।

कार्यक्रमको अन्तिम दिन समिक्षात्मक कार्यक्रममा मन्तव्य राख्ने अवसर पाएकी इन्दिराले खुलेरै पालिकाको प्रशंसा गर्न भ्याईन् । राष्ट्रिय युवा परिषद्ले बजेट व्यवस्थापन गरेपछि केही पालिकाहरुले यस्ता खालका नमुना युवा संसद अभ्यास कार्यक्रम गर्ने भएपनि गाउँपालिका आँफैले युवामा लगानी नगरेको बताउँदै उनले गुराँस गाउँपालिका कर्णाली प्रदेशमै युवा लगानीमा पहिलो भएको बताईन् ।

‘हामीले जति अवसर अरुले पाएका छैनन्’ उनले भनिन् “ गाउँपालिकाको आफ्नै लगानीमा नमुना युवा संसद अभ्यास हुन सुखद् पक्ष हो । युवाको सिप विकासमा लगानी भनेकै सुशासनको राम्रो पक्ष हो ।” उनले अन्य स्थानिय तहहरुले समेत यसरी नै युवाहरुलाई सिप विकासमा जोड्नुपर्ने धारणा राखिन् ।

युवाहरुमाथी राज्यले विश्वास गरेपछि नेतृत्व तहमा बस्नेहरुको विरोध मात्रै होइन रचनात्मक सुझाव दिन युवाहरुले सक्नुपर्ने उलने तर्क गरिन् ।

उनी मात्रै होइन कार्यक्रममा सहभागी गुराँस गाउँपालिका वडा नं ३ का युवा यमराज विश्वकर्माले समेत गाउँपालिकाले नमुना युवा संसद अभ्यास कार्यक्रम आयोजना गरेर युवाहरुलाई थप जिम्मेवार बनाएका बताए ।

‘हामी आठवटै वडाबाट छनौट भएर आएका युवाहरु छौं, उनले भने “अब हाम्रो पनि जिम्मेवारी थपिएको छ । हामीहरुले अनुशासित तरिकाले आँफुमा आएको जिम्मेवारी पुरा गर्नुपर्छ ।” राष्ट्रिय युवा परिषद्को बजेटले यस्ता कार्यक्रमका आयोजना कयौं पालिकाहरुले गर्ने गरेको भएपनि गुराँस गाउँपालिकाले भने आफ्नै लगानीमा कार्यक्रम गर्दा निकै खुशी लागेको उनले सुनाए ।

यमराज र इन्दिरा मात्रै होइन गुराँस गाउँपालिकाका आठवटै वडाबाट सहभागी भएका २४ जना युवाहरुले नमुना युवा संसद अभ्यास कार्यक्रमबाट संसदिय अभ्यास सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमको समापनका अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सीले संसदिय अभ्यास संघिय, प्रदेश र स्थानिय तहको उस्तै भएकोले युवाहरुले यस्ता कुराहरु सिक्न जरुरी भएको बताए ।

राजनिति देशको मुल नीति भएको र राजनितिक प्रक्रिया र संसदिय अभ्यासलाई युवाहरुले नबुझे निर्माण हुने कानुन, बन्ने योजना र नीतिमा समेत त्रुटी हुने उनले तर्क गरे । हरेक युवाले राज्यलाई विरोधको आँखाले हेर्नुभन्दा रचनात्मक सुझाव दिएर नेतृत्वलाई हौशला र आफ्नो क्षेत्रलाई सम्बृद्ध बनाउन भुमीका खेल्नुपर्ने उनले बताए ।

यस्तै महिला सशक्तिकरण मञ्च दैलेखका अध्यक्ष सुनिता चन्दले युवाले अवसर पाए हरेक क्षेत्रमा उत्कृष्ट नतिजा आउने तर्क गरिन् ।

कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा रहेका राजेन्द्र अधिकारीले आफ्नै लगानीमा नमुना युवा संसद अभ्यास कार्यक्रम आयोजना गर्नेमा गुराँस गाउँपालिका देशकै चौथो पालिका भएको भन्दै यसरी नै युवामा लगानी गर्न अन्य पालिकाहरुले सिक्नुपर्ने बताए ।

यमराज विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय पालिका स्तरीय क्लब गठन

यमराज विश्वकर्माको अध्यक्षतामा गुराँस गाउँपालिका स्तरीय क्लब गठन समेत गरिएको छ । ११ सदस्यीय समितीको उपाअध्यक्षमा इन्दिरा पुन मगर र कल्पना खड्का, सहसचिवमा विनोद वि.सी, कोषाध्यक्षमा टोपराज नेपाली, सदस्यहरुमा सुस्मिता वि.क, भुपेन्द्र सुनार, गगन वि.क, अवय शाही, पुष्पा खड्का र सिर्जना नेपाली रहेका छन् ।