बाल विवाह न्यूनिकरणका लागि जुम्लाका स्थानीय तहहरुको साझा प्रतिवद्धता

जुम्ला ।  जुम्लाका स्थानीय तहहरुले बाल विवाह न्यूनिकरणका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छन् । बाल विवाह रोक्न स्थानीय तहरुले तथ्यांक संकलन गर्ने, बाल विवाहको कारण पत्ता लगाउने र बाल विवाह रोक्नको लागि कार्ययोजना बनाएर अघि बढ्ने साझा प्रतिबद्धता जनाएका हुन् ।

बाल विवाह न्यूनिकरणसँग सम्बन्धी आइतबार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले बालविवाह न्यूनिकरण अभियान संचालन गर्ने बताएका छन् । बाल विवाहले गर्दा किशोरकिशोरीको शारीरिक, मानसिक र आर्थिक रुपमा समस्यामा पर्ने भएकाले न्युनिकरण गर्न आवश्यक रहेको उनीहरुको भनाई छ ।

तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष विष्णु बुढाले बाल विवाह न्युनिकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताइन् । उनले स्थानीय तहमा कार्ययोजना बनाई न्युनिकरण अभियानमा सहभागी हुने उल्लेख गरिन् । बाल विवाह मुक्त जिल्ला बनाउनको लागि जिल्ला तथा स्थानीय स्तरमा कार्ययोजना निर्माण गरिने उनले बताइन् ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले समय क्रमसँगै प्रविधिको गलत प्रयोगले बालबालिका आफै विवाह गर्ने क्रम बढेको बताए । बाल विवाहले बालिकाहरु थप जोखिममा पर्नुका साथै दुव्र्यवहारहरुको शिकार हुने जोखिम रहेको उनको भनाई छ । उनले सरोकारवा सबैले आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवनकुमार चौधिरीले प्रहरीमा बाल विवाह सम्बन्धीका उजुरी नै न्युन आउने गरेको बताए । उनका अनुसार प्रहरीमा गत आर्थिक वर्षमा २ वटा बाल विवाहको उजुरी परेका थिए । बाल विवाह कसैलाई पनि थाहा नदिएर गर्ने भएकाले उजुरी नै नआउने गरेको उनको भनाई छ ।

आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाका परियोजना अधिकृत जयलक्ष्मी चौलागाईले वडा, पालिका र जिल्लालाई बाल विवाह न्यूनिकरण गर्न सबैले साझा प्रतिवद्धता कार्यान्वयन जोड दिइन् ।