वीरेन्द्रनगरमा एकै परिवारका ४ जना मृत फेला

सुर्खेत । वीरेन्द्रनगरमा एकै परिवारका चार जना मृत फेला परेका छन् । वीरेन्द्रनगर १० बुद्बुदीमा एकै घरका चार जना मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयले शनिबार साँझ उनीहरुलाई मृत अवस्थामा भेट्टाएको जनाएको छ ।

प्रहरीका अनुसार जाजरकोटको शिवालय गाउँपालिका ४ का ३५ वर्षीया कल्पा बुढा, उनका ९ वर्षीय छोरा निरज बुढा र आठ वर्षीय छोरा चिरञ्जीवी बुढा तथा कल्पा बुढाका जेठाजुका छोरा पाँच वर्षीय सोमराज बुढा मृत भेटिएका हुन् ।

प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राम प्रसाद घर्तिले कोठाको ढोका फोडेर हेर्दा उनीहरु मृत अवस्थामा भेटिएको जानकारी दिए । चिसोको समयमा कोइला बालेर सुतेको भएर निसासिएर मृत्यु भएको अनुमान गरिए पनि खास के कारणले मृत्यु भएको भनेर नखुलेको बताए ।

‘खाटमुनि कोइला बालेको देखिन्छ । यस कारण निसासिएर मृत्यु भएको हो की भन्ने अनुमान छ’ उनले भने, ‘आफन्तहरु आइपुगेकाले अब पोष्टमाटम पछि मात्रै कारण खुल्छ ।’