भेरी लिफ्ट खानेपानीका लागि नेपाल सरकार र वीरेन्द्रनगर नगरपालिकाबीच सम्झौता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका र नेपाल सरकार, खानेपानी मन्त्रालयबीच भेरी लिफ्ट खानेपानी आयोजना सहभागिता सम्बन्धी सम्झौता भएको छ । लुम्विनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा आयोजनामा भएको कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देक रमकान्त दवाडी र वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यो योजना देशकै बृहत खानेपानी योजना अन्तरगत रहेको योजना हो । यसले वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्ने छ । यो योजना सम्पन्न गर्न नगरबासीको सहयोगको अपेक्षा नगरपालिकाले गरेको छ ।

सम्झौता गर्दा कर्णाली प्रदेश जलस्रोत तथा उर्जा मन्त्रालयका सचिव देवराज निरौलाको रोवरमा विभागका महानिर्देशक रमाकान्त दवाडी, खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल र नगर प्रमुख मोहनमाया ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो आयोजना सम्पन्न हुनको लागि करिब ६ अर्व रुपैयाँ लगानी लाग्ने नगरपालिकाले जनाएको छ । अबको ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा तीन वर्षमा पानी वितरण र दोस्रो तीन वर्षमा यो योजना पुर्ण रुपमा सञ्चालन हुनेछ ।

साथै कार्यक्रममा वीरेन्द्रनगरका प्रमुख प्रशासकिय अधिकृत नरहरि तिवारी र उपत्यका खानेपानी योजनाका अध्यक्ष कुलमणि देवकोटाको सहभागिता थियो ।