बालुवाटारमा आज पनि राजनीतिक समन्वय समितिको बैठक

काठमाडौं । बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू छलफलमा जुटेका हुन्।

साथै छलफलमा गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका सदस्यहरू पनि छन्। बिहीबार पनि राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। समन्वय समितिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक छन्। दलहरूबीच दुई महिनाको अन्तरमा संयोजक परिवर्तन गर्ने सहमति छ।

नेता पौडेलले बिहीबार बैठकमा विभिन्न १५ बुँदे प्रस्ताव छलफलका लागि पेश गरेका थिए। ती प्रस्तावबारे आज छलफल गरिएको हो। संसद निरन्तर चल्नुपर्ने, राष्ट्रिय सभा निर्वाचन, एमसिसीलगायत विभिन्न विषयमा गठबन्धनले छलफल गरेको छ। छलफलमा गठबन्धनका ५ दलबाट ११ जना सदस्य छन्।