दशैंको चहलपहलसँगै कोरोनाको जोखिम बढ्दो

जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव

सुर्खेत ।  दशैंको चहलपहल सुरु भएसँगै कोरोनाको जोखिम पनि बढेको छ । कोरोना जोखिमकाबिच सावधानी नअपनाई भिडभाड गर्दा झनै जोखिम बढेको हो । दशै नजिकिए पछि किनमेल र घर फर्किनेको भिड बढेको छ ।

सुर्खेतको वीरेन्द्रनगर लगागयतका बजार क्षेत्र र बसपार्कमा भिडभाडले कोरानोको जोखिम बढ्ने स्वास्थ्यकर्मीहरुले आँकलन छ ।
सुर्खेतमा अहिलेसम्म एक सय ५० भन्दा कम कोरोनाका सक्रिय संक्रमित छन् । त्यस मध्य अस्पतालमा १० जना उपचाररत छन् भने अन्य होमआइसोलेनमा रहेका छन् । जन स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले अघिल्लो महिना भन्दा संक्रमण घट्दै गए पनि फेरी भिडभाड बढेकोले कोरोनाको जोखिम बढ्न सक्ने अनुमान गरिएको बताए ।

जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना नगरेकोले दशैं लगत्तै संक्रमितको संख्या बढ्न सक्ने उनको भनाई छ । वाग्लेले भने, ‘बजार क्षेत्र अत्यधिक भिडभाड छ । भिडभाडमा झन मास्क लगाउनुपर्ने हो । यस माथि पछिल्लो समय मास्क लगाउनेको संख्या घटेको पाइको छ ।, दशैंलगत्तै कोरोना जोखिमको अवस्था बढ्ने अनुमान गरिएको उनले सुनाए ।

नागरिकले पुर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै कोरोनालाई हल्का रुपमा नलिन उनले सुझाव दिए । उनका अनुसार सुर्खेतमा हालसम्म १८ वर्ष माथिका ५१ प्रतिशतले खोप पाइसकेका छन् । त्यस मध्य ३१ प्रतिशतले दुवै मात्रा लगाइसकेका हुन् । पछिल्लो समय खोपमा नागरिकको पहुँच बढ्दै गरेको वाग्लले जानकारी दिए ।

जनस्वास्थ्यका मापदण्ड पालना गर्न र भिडभाड नगर्न स्थानीय प्रशासनले अनुरोध गरे पनि भिडभाड बढेको छ । संक्रमणको दर हाल केही कमी देखिएता पनि पूर्ण रुपमा नियन्त्रण भई नसकेकोले स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

चाडपर्वको समयमा समेत बढी भिडभाड तथा भेला जम्मा भई जात्रा, महोसत्व नगर्न पनि प्रशासनले भनेको छ । तर वीरेन्द्रनगर बजार क्षेत्रमा दशैं किनमेल गर्नेहरुको अत्यधिक भिडभाड बढेको हो ।