कर्णालीमा बालबालिकालाई धमाधम कोरोनाविरुद्धको खोप

सुर्खेत । कर्णाली प्रदेशका नौ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप धमाधम लगाइँदै छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीका नौ जिल्लामा हालसम्म एक लाख ३० हजार ६२५ जनालाई खोप लगाइएको हो ।

सुर्खेत बाहेक दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, कालीकोट, डोल्पा, हुम्ला, मुगु र जुम्लामा बालबालिकालाई मोर्डना खोप दिइएको हो । यि जिल्लामा एक लाख ५४ हजार ८७२ जना बालबालिकालाई खोप लगाइने लक्ष्य छ । यही पुस ४ गतेदेखि नौ जिल्लामा बालबालिकालाई मोेडर्ना खोप दिन सुरु गरिएको थियो । निर्देशनालयका सुचना अधिकारी पदम केसीले अहिलेसम्म नौ जिल्लामा ८४ दशलम ४ प्रतिशत बालबालिकालाले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिए ।

उनका अनुसार सल्यानमा २८ हजार ३९३, दैलेखमा २३ हजार ५०२, रुकुमपश्चिम २० हजार ७६४, कालीकोटमा १८ हजार ६३७, जाजरकोटमा १८ हजार १३१ जना बालबालिकाले खोप लगाएका हुन् ।
यस्तै जुम्लामा ७ हजार २६८, मुगुमा पाँच हजार १९७, हुम्लामा पाँच हजार ६०२ र डोल्पामा तीन हजार १४२ जनाले खोप लगाएका छन् ।
खोप अभियान अहिले पनि निरन्तर भएकाले र जुम्ला, दैलेखलगायतका केही पालिकाकाले तथ्याङ्क दिन ढिलो भएकाले केही प्रतिशत बढ्न सक्ने उनले बताए ।

उनले भने, ‘समग्रमा हेर्दा खोप अभियान राम्रोसँग संचालन भएको छ । केही जिल्लामा लक्ष्य भन्दा बढी खोप लगाएका छन् ।’ उनले माघ ४ गतेदेखि दोस्रो मात्रा खोप दिन सुरु गरिने बताए ।

यस्तै यस अघि सुर्खेतमा दुई हजार ७२ जना बालबालिकालाई फाइजर खोप लगाइएको थियो । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार दुई हजार सात जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन् । सुर्खेतमा बालबालिकालाई फाइजर खोप लगाउने भएकाले केन्द्रको सुचना आए पछि लगाइने निर्देशनालयका जनाएको छ ।