राष्ट्रिय सभा सदस्यको उम्मेदवारी आज दर्ता हुँदै

सुर्खेत । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ  । माघ १२ गते हुने चुनावका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

रिक्त १९ राष्ट्रिय सभा सदस्यको पदका लागि निर्वाचन हुने लागेको हो । जसमा सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात जना अन्य समूहका रहेका छन् ।

कर्णाली प्रदेशमा तीन जना निर्वाचित हुनेछन् । कर्णालीमा कांग्रेस , एमाले र नेकपा (एकीकृत समाजबादी) पार्टीले उम्मेदवारको टुंगो लगाइसकेका छन् । माओवादीले उम्मेदवारको टुंगो लगाउन बाँकी छ । यो चुनावका लागि सत्ता साझेदार दल र प्रतिपक्षी एमाले प्रतिस्पर्धा गर्दैछन् ।

१९ सिटमा सत्ता गठबन्धनमा रहेका दलले भागबण्डा गरेका छन् । जसअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्नेछन् । कर्णालीमा कांग्रेस,  माओवादी र नेकपा (एकीकृत समाजबादीलाई १/१ सिट भाग परेको छ ।