आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुन्छ : नेता बोगटी

सुर्खेत । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा एमाले पहिलो पार्टी हुने एमाले स्थायी कमिटी सदस्य गोरख बोगटीले बताएका छन् । बिहिबार नेकपा एमाले कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमाले प्रदेश कमिटीको पाँचौं बैठक तथा आगामी निर्वाचन परिचालन कमिटीको बैठकले गरेको निर्णय सार्वजनिक गर्नका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

स्थानीय  तहको निर्वाचनमा एमाले प्राविधिक सिटमा कम भएपनि लोकप्रिय मतमा भने अगाडी भएको उनले दाबी गरे ।

‘आगामी मंसिर ४ हुने निर्वाचनमा हामी पहिलो स्थानमा आउँछौं’ उनले भने“ एमालेसंग एक्लै लड्नै औकात कुनै पार्टीको छैन । त्यसैले गठबन्धन गरेका छन् ।”

गत स्थानीयतहको निर्वाचनमा पाँचदल लागेर पनि एमालेलाई सक्न नसकेको उनले तर्क गरे ।

बैठकले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा जिल्लाहरुबाट प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिसलाई पार्टी केन्द्रिय कार्यालयमा पठाउने निर्णय गरेको छ । साथै बैठकले आगामी निर्वाचनलाई व्यवस्थित, प्रभावकारी परिचालनका लागि प्रदेश कमिटीका अध्यक्ष बिनोदकुमार शाहको संयोजकत्वमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको र शाहकै संयोजकत्वमा २६ सदस्यीय निर्वाचन परिचालन सचिवालय समेत गठन गरेको हो ।

यस्तै बैठकले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सबै कमिटीहरुलाई तहगत निर्वाचन परिचालन कमिटी गठन गर्न निर्देशन गरेको र प्रदेश कमिटीका सदस्य दैलेखका योगेन्द्र शाहीलाई पार्टीको अर्थ तथा योजना विभागको सचिवमा मनोनयन समेत गरेको हो ।

यस्तै प्रदेश कमिटी सदस्य जाजरकोटका नगेन्द्र शाहलाई अनुशासन कारबाही र सदस्यताबाट हटाउने निर्णयको समेत अनुमोदन लगाएतका ६ वटा निर्णय गरिएको हो ।